आफ्नो घर बलियो र सुरक्षित होस् भन्ने सपना सबैको हुन्छ । सामान्यतया जीवनमा एकपटक बनाइने घर कमजोर र जोखीमपूर्ण भयो भने निर्माण लागत त डुब्छ नै, त्यस्तो घरमा बस्न पनि डर हुने गर्छ ।
घर कस्तो बनाउने भन्ने कुरा धेरै हदसम्म जग्गामा निर्भर रहन्छ । जग्गाको प्रकृति तथा अवस्थितिले घरको डिजाइनमा निकै ठूलो प्रभाव पार्छ । साथै, जग्गाले घर बलियो बनाउन ठूलो भूमिका निर्वाह गर्छ । जग्गाको प्रकृतिकै कारण धेरै जनाले आफूले सोचेको डिजाइनमा घर बनाउन नपाएका उदाहरण धेरै छन् ।
त्यसैले यदि तपाईं पनि घर बनाउने योजनामा हुनुहुन्छ भने त्यसका लागि जग्गा कत्तिको मिलेको छ वा आफूले सोचेको डिजाइनमा ढाल्न उपयुक्त हुनेरनहुने कुराप्रति सचेत रहनुपर्ने आर्किटेक्ट तथा सिभिल इञ्जिनीयरहरूको सुझाव छ । घर सुरक्षित तथा सबै कोणबाट मिलेको हुनुपर्छ । मिलेको जग्गा भएमा उत्कृष्ट डिजाइनमा घर तयार पार्न सकिने मात्र होइन, त्यसले परिवारमा सुख तथा शान्ति कायम राख्न पनि मद्दत पुर्याउँछ ।
कस्तो डिजाइनको घर बनाउन कस्तो वा कति जग्गा चाहिन्छ भन्ने कुरा आर्किटेक्टलाई थाहा हुन्छ । जग्गा तथा खाली ठाउँ व्यवस्थापनको पाटो पूर्णरूपमा आर्किटेक्टको हो । तर जग्गा खरीद गर्दा आर्किटेक्टको राय लिने चलन हामीकहाँ अत्यन्त न्यून छ । जग्गाको छनोट उपयुक्त नभएमा बलियो घर बनाइए पनि भूकम्पको सानो धक्काले समेत घर जगैदेखि ढल्न सक्ने इञ्जिनीयरहरू बताउँछन् । कालो र हलुका माटो मात्रै भएको जग्गामा ठूला घर बनाउन उपयुक्त नहुने सुझाव उनीहरूको छ ।
जग्गा किन्नुअघि ध्यान दिनुपर्ने पक्ष
* घर बनाउन सामान्यतया कम्तीमा पनि साढे २ आना जग्गा आवश्यक पर्छ । खोलाबाट २० मिटर तथा विद्युत् प्रसारण लाइनभन्दा सकेसम्म टाढा भएको जग्गामा मात्र घर बनाउनुपर्छ ।
* वास्तुको दृष्टिकोणबाट सामान्यतया उत्तर वा पूर्व फर्किएको जग्गा राम्रो मानिने भए पनि काठमाडौंको सन्दर्भमा दक्षिण वा पूर्व फर्किएको जग्गा उपयुक्त हुन्छ ।
* जग्गाको मोहोडा न्यूनतम १८ फीटको हुनुपर्छ । मोहोडा ठूलो भएमा धेरै प्रकारका डिजाइनमा घर निर्माण गर्न सकिन्छ । तर, ठूलो मोहोडा हुँदा एउटा घाटा पनि हुन सक्छ । ठूलो मोहोडा भएको जग्गा बाटोमा जान सक्छ ।
* जग्गालाई छुने बाटो कम्तीमा १३ फीटको हुनुपर्छ । त्यस्तै, जग्गा सकेसम्म बाटोको समान सतहमा हुनुपर्छ । बाटोको भन्दा जग्गाको सतह कम भएमा त्यसले घरको लागत बढाउँछ ।
* सकेसम्म चारपाटे आकारको जग्गा भएमा पूर्णरूपमा घरका लागि सदुपयोग हुन्छ । त्रिकोणात्मक आकारको जग्गा हुँदा पुरै सदुपयोग गर्न सकिँदैन र भनेअनुसारको डिजाइनमा तयार गर्न पनि सकिँदैन ।
* ढलको सुविधा भएको वा भविष्यमा ढल निकासा हुने जग्गा किन्ने गर्नुपर्छ ।
* घर बनाउन ग्राभेलयुक्त माटो राम्रो हुन्छ । धेरै कालो भएको माटोले जग्गाको पानी सञ्चित गरेर राख्ने भएकाले जाडो वा गर्मी मौसममा त्यस्तो जग्गामा बनेको संरचनामा प्रतिकूल असर पर्न सक्छ ।
* भिरालो ठाउँको जग्गाको माटो स्थिर नहुने हुँदा त्यसले घरको भार नथाम्न सक्छ । यस्ता जग्गामा पहिरोको जोखीमसमेत हुन्छ । साथै, घर बनाउँदा लागत बढाउँछ ।
* साधारण दुई तलासम्मको घर बनाउन माटो परीक्षण गर्नु अत्यावश्यक नभए पनि जग्गामा दह, चिरा परेको वा अन्य कुनै असामान्य अवस्था भएमा भने प्राविधिकलाई देखाउनुपर्छ ।
अपनाउनुपर्ने सावधानी
* सबैभन्दा पहिला नक्सामा कित्ता नम्बर मिलाउनुपर्छ । तपाईंलाई देखाएको जग्गा र कित्ता नम्बर एकै हो कि होइन भनेर पक्का हुनुपर्छ ।
* नापीनक्सा, कित्ताकाट, नम्बरी, प्रति कस्तो जग्गा हो, सिम, चहार, गुठी, रैकर, मोहि लागेको हो कि, अदालती कारबाही चलिरहेको छ कि भन्ने विषयमा निश्चित हुनुहोस् । जग्गा कुन हो, कित्ता नम्बर कति हो, गुठीको हो कि, मोहियानी छ कि, धितो बन्धक छ कि, अदालतमा मुद्दा परेको छ कि आदि सबै कुरा मालपोत कार्यालयबाट थाहा पाउन सकिन्छ । त्यति मात्र नभएर त्यो जग्गाको मूल्य कति हो, वरपर कति रुपैयाँमा कारोबार भएको छ, चलनचल्ती र सरकारी मूल्याङ्कन कति छ भन्ने जस्ता जानकारी पनि मालपोत कार्यालयबाट लिन सकिन्छ ।